देश १ का मुख्यमन्त्री शेरधन राईले आफूभन्दा २५ वर्षभन्दा बढी उमेर अन्तर भएकी ज्याङ्मु एन शेर्पासँग विहे गर्न लागेका छन्। ५० वर्षिय राईले आगामी माघ ११ गते २३ वर्षिय शेर्पासँग विवाह गर्न लागेका हुन्। सन् २०१८ की ‘मिस मंगोल नेपाल’ समेत रहेकी शेर्पा तत्कालिन समयमा मिस मंगोल नेपालमा सहभागी हुन आउँदा १९ वर्ष हाराहारीकी थिइन्। ‘मिस मंगोल नेपाल, मिस ई-कलेज प्रतियोगितामा भाग लिन आउँदा ज्याङ्मु शेर्पा करिब १९ वर्षकी थिइन्’, आयोजक सिजन मिडियाका प्रमुख प्रदीपराज वन्तले भने, ‘अहिले त्यहीँ २२-२३ वर्षभन्दा बढी भएकी छैनन्।’
मुख्यमन्त्री राईको विवाहबारे उनको सचिवालयले पुष्टि गर्दै विवाहको मिति सार्वजनिक गरेको हो। उमेरमा निकै ठूलो अन्तर रहेको ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हुने भएको हो । मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौंमा हजुरआमासँग बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा छन्।
प्रारम्भीक शिक्षा काठमाडौंको अल्पाइन् भ्याली स्कुलबाट पुरा गरेकी उनले हिमालयन इन्टर मोडलबाट उच्च शिक्षा लिएकी हुन्। राई र शेर्पाबीच काठमाडौंमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यबीच बिहे हुने भएको छ।
१३ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी उनले त्यसलगत्तै उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी थिइन्। मिस ई कलेज, मिस एसएलसी हुँदै ‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा अभिनयसमेत गरेकी छन्।
मोडल जाङ्मु इन शेर्पा २०१९ मा सगरमाथा आरोहण गर्ने तयारीमा थिइन् । यसका लागि उनी सगरमाथा आधार शिविर पनि पुगिन् ।
‘हाइ अल्टिच्युड टेस्ट’का लागि शिविर पुगेको केही महिनामै मिस मंगोलमा भिडिन् । मिस मंगोल–२०१८ को विजेता बनिन् उनी ।
मिस मंगोलको ताज जितेसँगै लक्ष्यको बाटो मोडियो । त्यसपछि सगरमाथा आरोहणको कार्यक्रम थाँती राखे र असहाय बालबालिकाका लागि छात्रवृत्ति कार्यक्रम योजना अघि सारिन् ।
‘बेस क्याम्पसम्म पुगें । २०१८ अप्रिलतिर गएको थिएँ । २०१९ को प्लान एभरेस्ट चढ्नु थियो । बीचमा मिस मंगोलमा पार्टिसिपेट भएँ,’ आफ्नो योजनाबारे उनले थपिन्, ‘ताज पनि जिते मिस मंगोलको ताजले एभरेस्ट चढ्ने योजना यु टर्न गरिदियो ।’
संखुवासभा मकालुकी जाङ्मु मोडलिङ हुँदै सौन्दर्य क्षेत्रमा प्रवेश गरेकी हुन् । विभिन्न कार्यक्रममा एमसीको भूमिकामा पनि देखिन्छन् । शेर्पा र नेपाली गीतमा मोडलिङमा व्यस्त उनले पछिल्लोपटक असहाय बालबालिकाका लागि आफ्नो समय खर्चने सपना बुनेकी हुन् । सगरमाथाको चुचुरोमा पुग्नुभन्दा पनि असहाय बालबालिकाका लागि समय खर्चनु अझ राम्रो हुनेमा विश्वस्त छिन् उनी ।