काठमाडौं, ८ जेठ । नेपालले भारतले अतिक्रमण गरेको नेपाली भूमी समेटेर नयाँ नक्सा जारी गरेपछि भारतमा हंगामा भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले जारी गरेको नयाँ नक्सा आफुहरुलाई स्वीकार्य नहुने प्रतिकृया दिएका छन् । यो विषयलाई लिएर भारतीय मिडियाले नेपाललाई चीनको इशारामा नेपालले यो विषय उठाएको आरोप लगाउँदै मनगढन्ते समाचार बनाइरहेका छन् ।
भारतीय सेनाका प्रमुखले पनि नेपाललाई चीनको इशारामा कालापानी र लिपुलेकको कुरा उठाएको आरोप लगाएका थिए । त्यो कुराको प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई कडा जवाफ दिइसकेका छन् । यसैबीच नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले भारतीय मिडियालाई कडा जवाफ दिएका छन् । उनलाई टेलिभिजन समाचारमा गरिएको टेलिफोन अन्तरवार्ताका क्रममा पत्रकार अरनवले अनावश्यक लाच्छना लगाउँदै प्रश्न गरेपछि उनले कडा प्रतिवाद गरेका हुन् ।
चाइना कसैको साथी होइन । चाइना एक्लै लडेको छ तपाईलाई पनि थाहा छ भन्दै गरेको पत्रकारको प्रश्नमा मिनेन्द्र रिजालले, पत्रकारलाई यस्तो भन्ने अधिकार नभएको जवाफ दिएका छन् । सुरुमै प्रश्नकर्तालाई भने, तपाईले मलाई प्रश्न सोधेको की थर्काएको, यसरी टेलिभिजन अन्तरवार्ता हुँदैन । नेता रिजालले सिमानाको मुद्दा महत्वपुर्ण मुद्दा भएकाले नेपाल दुई देशबीच कुटनीतिक हिसावले समस्या समाधान गर्नुपर्छ भन्ने कुराको पक्षमा रहेको स्पष्ट पारेका छन् ।
उनले यो कोरोनाको कहर सकिएपछि छलफल गर्ने कुरा भए पछि आवश्यक परे त्यो भन्दा अगाडी पनि दुई देशबीच छलफल गर्नुपर्ने बताए । नेता रिजालले कालापानी र लिपुलेकको भूभाग नेपालको हो भन्ने कुराको सबै प्रमाण लिएर नेपाल वार्ता र छलफलका लागि आउने स्पष्ट पार्दै, भारत पनि आफ्नो दावी लिएर छलफलमा आउन सक्ने बताए ।
प्रश्नकर्ताले नेता रिजाललाई चाइनाको पक्ष लाएर नेपालले भारतको अधिनमा रहेको कालापानी र लिपुलेक नेपालले दावी गरेको र नेपाल, चाइनाको कठपुतली जस्तो भएको भन्दै प्रश्न राखेपछि नेता रिजाल आक्रोशित भएका थिए । उनले, भारतीय पत्रकारलाई नेपालले चाइनाको पक्ष लिएको भनेर भन्ने अधिकार नभएको बताउँदै, आक्रामश शैलीमा भने, म तपाईलाई प्रष्ट भन्न चाहन्छु, हामी एक अर्काको विचारलाई सम्मान गर्न सक्दैनौं भने हाम्रो कुरा सौहार्दपुर्ण हुन सक्दैन ।
पत्रकारले नेता रिजाललाई प्रधानमन्त्री ओलीले, चाइनाको भन्दा भारतवाट आएको कोरोना कडा भनेर दिएको भनाईको बारेमा पनि पत्रकारले प्रश्न राखेका थिए । सो प्रश्नको जवाफमा नेता रिजालले भने, हामी प्रतिपक्ष हौं, त्यसैले प्रधानमन्त्रीले भनेको त्यो विषयमा म बोल्न चाहन्न, त्यो कुरा प्रधानमन्त्रीलाई नै सोध्नुस् । हामी यतिवेला सिमानाको विषयमा कुरा गरिहेका छौं । मलाई सिमानाको विषयमा मात्र प्रश्न गर्न सक्नुहुन्छ । म कोरोनाको विषय विशेषज्ञ नभएका कारण यसको विषयमा म जवाफ दिन सक्दिन ।