काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका लागि सबै तरिकाले तयार रहन निर्देशन दिएका छन् ।
निर्वाचन भइहाले त्यसका लागि तयार रहन भन्दै ओलीले नतिजा निकाल्ने गरी सबै तरिकाले तयार रहन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
निर्वाचनमा जनअभिमत स्वेच्छाले प्रकट हुन पाउनुपर्नेमा जोड दिँदै उनले शान्तिपूर्ण वातावरणमा स्वच्छ निर्वाचन जहिले भए पनि एमाले सहभागी हुने बताए । उनले एमाले विजय हुने पनि बताए ।
अहिले देशलाई निकास दिने सबभन्दा सही बाटो ‘विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापना’ भएको भन्दै अध्यक्ष ओलीले संसद् पुनस्र्थापनापछि संसद्बाट समाधान खोजिनुपर्ने धारणा व्यक्त गरे ।
वर्तमान सरकार असंवैधानिक भएको र संसद् अनधिकृत व्यक्तिको सिफारिशमा विघटन गरिएको भन्दै ओलीले प्रधानमन्त्री परिवर्तनको कुरा मात्र नभई लोकतान्त्रिक प्रणाली र प्रक्रियामाथिको प्रहार भएको प्रष्ट पारे ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकिएको भए पनि अहिलेसम्म निर्वाचनको वातावरण नबनेको र सरकारले वातावरण बनाउने दिशामा काम नगरेको उनको भनाइ छ ।
अध्यक्ष ओलीले निर्वाचनका नाममा लोकतान्त्रिक प्रक्रिया दुरूपयोग गरेर लोकतन्त्र मास्ने प्रयास हुनसक्ने खतरा औंल्याए ।
