पोखरा । नेकपा एमालेको बलियो विरासत मानिँदै आएको कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित दर्ता गरेको छ। २०६४ सालको लहरमा समेत सुरक्षित रहेको एमालेको यो गढलाई रास्वपाका उम्मेदवार उत्तमप्रसाद पौडेलले भारी मतान्तरले ध्वस्त पारिदिनुभएको छ।
अन्तिम मतपरिणाम अनुसार पौडेल ३१ हजार ९११ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रश्मि आचार्यले मात्र ७ हजार ४९३ मत प्राप्त गर्नुभयो। विजयी पौडेल र आचार्यबीचको मतान्तर २४ हजार ४१८ रहेको छ, जुन कास्कीको चुनावी इतिहासमै निकै ठूलो अन्तर मानिन्छ।
नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बाँस्तोला (मधु) ६ हजार ५०० मतका साथ तेस्रो स्थानमा रहनुभएको छ। यसअघि २०७९ को निर्वाचनमा झिनो मतले पछाडि परेको रास्वपाले यसपटक एमालेको गढमा धावा मात्र बोलेन, मुख्य प्रतिस्पर्धीलाई चार गुणाभन्दा बढी मतले पछारिदिएको छ। अन्य उम्मेदवारहरूमा राप्रपाका हेमजंग गुरुङले १ हजार ६४३ र नेकपाका हेमबहादुर थापाले १ हजार २७६ मत प्राप्त गर्नुभएको छ।





