महोत्तरी । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झाले ऐतिहासिक जित हासिल गर्नुभएको छ। नेपाली कांग्रेस र नेकपा एमालेका ‘हेभिवेट’ उम्मेदवारहरूलाई भारी मतान्तरले पराजित गर्दै झाले जित सुनिश्चित गर्नुभएको हो।
अन्तिम मतपरिणाम अनुसार मनिष झाले ४३ हजार १४२ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिले जम्मा १५ हजार ९९२ मत मात्र प्राप्त गर्नुभयो। झाले निधिलाई २७ हजार १५० को विशाल मतान्तरले पछाडि पार्नुभएको छ।
त्यस्तै, नेकपा एमालेकी उम्मेदवार जुली कुमारी महतो ९ हजार ५१० मतका साथ तेस्रो स्थानमा खुम्चिनुभएको छ। मधेसको राजनीतिमा लामो समयदेखि पकड जमाएका पुराना दल र नेताहरूलाई नयाँ शक्तिका रूपमा उदाएको रास्वपाका झाले ठूलो धक्का दिनुभएको छ।





