काठमाडौँ । भोलि शनिबार (फागुन २३ गते) देशका अधिकांश पहाडी तथा हिमाली भू-भागमा मौसममा बदली आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार भोलि दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। देशका पहाडी र हिमाली भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानहरूमा भने बिहानको समयमा हुस्सु लाग्ने देखिएको छ।
शनिबार राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली भेगमा बादल लाग्ने क्रम जारी रहनेछ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। तराईका थोरै स्थानहरूमा रातिको समयमा तुवाँलो लाग्न सक्ने भएकाले यात्रा गर्दा सतर्कता अपनाउनु पर्नेछ।




