काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना तीव्र गतिमा अघि बढिरहेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार हालसम्म ४४ लाख १ हजार ९३३ मत गणना भइसकेको छ।
पछिल्लो नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो अग्रतालाई निकै मजबुत बनाएको छ। रास्वपाले कुल गणना भएको मतको झण्डै आधा अर्थात् ४९.३४ प्रतिशत (२१ लाख ७२ हजार १९ मत) प्राप्त गरेको छ। यो मतान्तरले रास्वपा समानुपातिकतर्फ पनि सबैभन्दा ठूलो दल बन्ने निश्चित देखिएको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ७ लाख ४२ हजार ९०४ मत (१६.८८ प्रतिशत) प्राप्त गरेको छ भने नेकपा एमाले ६ लाख ३२ हजार १६२ मत (१४.३६ प्रतिशत) सहित तेस्रो स्थानमा छ। त्यस्तै, पूर्वप्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले २ लाख ९४ हजार ९०० मत (६.७० प्रतिशत) ल्याएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३.६१ प्रतिशत र श्रम संस्कृति पार्टीले २.३३ प्रतिशत मत प्राप्त गरेका छन्।





