पोखरा । नेकपा एमालेका उपाध्यक्ष एवं लमजुङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले हालको निर्वाचन परिणामले देशमा नयाँ प्रकारको समस्या निम्त्याउन सक्ने बताउनुभएको छ। लमजुङमा पराजित भएपछि शनिबार प्रतिक्रिया दिँदै उहाँले नयाँ शक्तिहरूको सम्भावित ‘दुई तिहाइ’ बहुमतप्रति चिन्ता व्यक्त गर्नुभयो।
“उहाँहरूको दुई तिहाइ बहुमत आउला जस्तो छ, यो नै हाम्रो मुलुकका लागि समस्या हुन सक्छ,” गुरुङले भन्नुभयो। उहाँले नयाँ शक्तिहरूले संघीयता खारेजी वा समावेशी निर्वाचन प्रणालीबारे आफ्नो धारणा स्पष्ट पार्नुपर्ने माग गर्नुभयो। राष्ट्रिय सहमतिबिना संविधान संशोधनमा बलजफ्ती गरिए मुलुक फेरि अर्को द्वन्द्वमा फस्ने उहाँको चेतावनी छ।
गुरुङले यसपटकको निर्वाचनमा मतदाताले एजेन्डालाई भन्दा पनि ‘नयाँ’ को नाममा मात्र मत दिएको टिप्पणी गर्नुभयो। “राष्ट्रियता, विकास र सुशासनका एजेन्डामा कुनै छलफल भएन, खालि नयाँ भनेर मात्र पुग्दैन,” उहाँले अगाडि थप्नुभयो। उहाँले प्राप्त जनमतलाई सुझबुझपूर्ण ढंगले सम्बोधन गर्न र राष्ट्रिय मुद्दाहरूमा सबै दलबीच सहमति खोज्न सुझाव दिनुभएको छ।





