काठमाडौँ । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामबारे विस्तृत समीक्षा गर्न चैत पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने भएको छ। निर्वाचनमा पार्टीले बेहोर्नुपरेको अप्रत्यासित हार र कमजोर उपस्थितिबारे छलफल गर्न बैठकको तयारी सुरु गरिएको हो।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार निर्वाचनको वस्तुगत अवस्था बुझ्न सबै जिल्लाहरूबाट रिपोर्ट मगाइएको छ। “निर्वाचनमा के-कस्ता कमीकमजोरी भए र परिणाम किन यस्तो आयो भन्नेबारे जिल्लास्तरको रिपोर्ट आउने क्रम सुरु भएको छ,” प्रवक्ता चालिसेले भन्नुभयो, “सबै रिपोर्टहरू प्राप्त भएपछि चैतको पहिलो साताभित्रै केन्द्रीय समितिको बैठक बसेर गम्भीर समीक्षा गरिनेछ।”
२०७९ सालको निर्वाचनमा संसद्को सबैभन्दा ठूलो दल बनेको कांग्रेस यस पटकको निर्वाचनमा दोस्रो स्थानमा खुम्चिएको छ। प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिटमा मात्रै चित्त बुझाउनुपरेपछि कांग्रेस इतिहासकै सबैभन्दा कमजोर प्रतिपक्षीको रूपमा संसद्मा उभिने निश्चित भएको छ। पार्टीभित्रै नेतृत्वको कार्यशैली र निर्वाचन रणनीतिको आलोचना भइरहेका बेला यो बैठकलाई महत्त्वका साथ हेरिएको छ।
बैठकले निर्वाचनको हारको जिम्मेवारी, आगामी दिनमा पार्टीको भूमिका र सङ्गठन सुदृढीकरणका नयाँ योजनाहरू तय गर्ने अपेक्षा गरिएको छ। विशेष गरी नयाँ राजनीतिक शक्तिको उदय र कांग्रेसको परम्परागत मतमा आएको गिरावटका विषयमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुझिएको छ।





