काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ मा ऐतिहासिक सफलता हात पारेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महत्वपूर्ण केन्द्रीय समिति बैठक बस्ने भएको छ। पार्टी सभापति रवि लामिछानेको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै बैठकको समय र स्थान तय गरिने पार्टी स्रोतले जनाएको छ। सभापति लामिछाने केही समयदेखि स्वास्थ्य समस्याका कारण आराम गरिरहनुभएको छ।
यस बैठकको मुख्य कार्यसूचीमा हालै सम्पन्न निर्वाचनपछि समानुपातिकतर्फका उम्मेदवारहरूको अन्तिम सिफारिस गर्ने विषय रहेको छ। निर्वाचन आयोगले दलहरूलाई समानुपातिक सांसदको नाम पठाउन समयसीमा दिएसँगै रास्वपाले समावेशी सिद्धान्त र पार्टीको मापदण्डका आधारमा नामहरू टुंगो लगाउने तयारी गरेको हो। रास्वपाले यस पटक समानुपातिकतर्फ ५७ सिट प्राप्त गरी संसद्मा आफ्नो बलियो उपस्थिति जनाएको छ।
बैठकको अर्को महत्वपूर्ण एजेन्डा वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता चयन गर्ने विषय रहेको छ। काठमाडौँको पूर्व मेयरसमेत रहनुभएका शाहको नेतृत्वमा पार्टीले चुनावमा सानदार नतिजा निकालेको र उहाँलाई नै भावी प्रधानमन्त्रीको रूपमा अघि सारिएकाले संसदीय दलको नेता बनाउन आवश्यक कानुनी र राजनीतिक प्रक्रियाबारे बैठकमा गहन छलफल हुने बताइएको छ।
पार्टीभित्र बालेन शाहलाई संसदीय जिम्मेवारी सुम्पिने विषयमा व्यापक सहमति देखिए पनि प्राविधिक र वैधानिक प्रक्रियाहरू पूरा गर्न बाँकी छ। केन्द्रीय समितिको यो बैठकले समानुपातिक सांसदहरूको नाम टुंगो लगाउनुका साथै नयाँ सरकार गठन र सत्ता समीकरणमा पार्टीको भूमिकाबारे समेत ठोस निर्णय लिने अपेक्षा गरिएको छ।





