काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज सिंहदरबारमा बस्दैछ। दिउँसो सवा १२ बजेका लागि तय भएको यस बैठकले प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिका सभापति पदका लागि पार्टीका तर्फबाट उम्मेदवारहरूको टुङ्गो लगाउने मुख्य कार्यसूची रहेको छ।
सङ्घीय संसद् अन्तर्गत रहेका १६ वटा संसदीय समितिमध्ये प्रतिनिधिसभाका १० र संयुक्त दुई गरी १२ वटा समितिका सभापतिको निर्वाचन हुन बाँकी छ। राष्ट्रिय सभा अन्तर्गतका ४ वटा समितिका सभापतिहरू यसअघि नै चयन भइसकेका छन्। गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेसँगै सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार (वैशाख ४ गते) का लागि सभापतिहरूको निर्वाचनको मिति तोक्नुभएको छ।
संसदीय नियमावलीअनुसार, समितिका कुनै पनि सदस्यले अर्का एक सदस्यको समर्थनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गर्न सक्ने प्रावधान छ। ‘मिनी संसद्’ का रूपमा चिनिने यी समितिहरूको नेतृत्व चयनलाई रास्वपाले निकै महत्त्वका साथ हेरेको छ। आजको बैठकमा सभापतिका आकांक्षी सांसदहरूको योग्यता र समितिको कार्यक्षेत्रका आधारमा उम्मेदवार छनोट गरिने दलको कार्यालयले जनाएको छ।





