काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडेर सार्वजनिक भएका सेयर लगानीसम्बन्धी विवादका विषयमा सामाजिक सञ्जालमार्फत विस्तृत स्पष्टीकरण दिएका छन्। मन्त्री गुरुङले आफूमाथि लागेका आरोपहरूको खण्डन गर्दै मन्त्रिपरिषद्को वेबसाइटमा सार्वजनिक गरिएको आफ्नो सम्पत्ति विवरणमा २ करोडभन्दा बढीको लगानी स्पष्ट उल्लेख गरिएको जिकिर गरेका छन्। २५ लाख रुपैयाँ बराबरको सेयर लुकाएको भन्ने चर्चा निराधार रहेको भन्दै उनले स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी सोही विवरणभित्रै समेटिएको प्रष्ट पारेका छन्।
मन्त्री हुनुअघि नै २०८० भदौ २९ गते बैंकिङ प्रणालीमार्फत ऋण लिएर उक्त सेयर खरिद गरिएको र यसको सबै प्रमाण सुरक्षित रहेको उनले जानकारी दिएका छन्। विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी भनिएको विषयमा टिप्पणी गर्दै गुरुङले एउटै कम्पनीमा सयौँ सेयरधनी हुने भएकाले सेयर किन्नुलाई सबैसँगको व्यक्तिगत साझेदारी मान्न नहुने तर्क गरेका छन्। उनले व्यापारिक लगानी गर्दा भविष्यमा आउन सक्ने सबै उतारचढाव वा अवस्था पहिल्यै अनुमान गर्न नसकिने भन्दै पछि घटेका घटनाका आधारमा पहिलेको निर्णयलाई दोषी ठहर्याउनु न्यायोचित नहुने बताएका छन्।
स्वार्थको द्वन्द्वको आरोपका विषयमा स्पष्ट पार्दै मन्त्री गुरुङले यस विषयको छानबिन गृह मन्त्रालयले नभई अर्थ मन्त्रालय मातहतको सम्पत्ति शुद्धीकरण विभागले गरिरहेको स्पष्ट पारेका छन्। यदि आफूले पदको प्रभाव वा हस्तक्षेप गरेको भए छानबिन प्रक्रिया नै अघि नबढ्ने दाबी गर्दै उनले अनुसन्धान चलिरहनुले नै आफ्नो प्रभाव नरहेको पुष्टि गर्ने बताएका छन्। उनले हल्लाका पछि नलागी प्रमाणका आधारमा निर्णयमा पुग्न सबैलाई आग्रह गर्दै पार्टीले गर्ने हरेक निर्णयलाई शिरोधार्य गर्ने र अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।





