काठमाडौँ । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा हिमाली क्षेत्रमा बदली र तराईमा अत्यधिक गर्मीको अवस्था देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको हिमाली भू-भागमा साधारणतया बदली छ भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ। बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी प्रदेशको पहाडी र तराई क्षेत्रसहित अन्य पहाडी भू-भागमा आंशिक बादल लाग्ने सम्भावना छ। महाशाखाका अनुसार देशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। पहाड र हिमालमा मौसमको यस्तो प्रभाव देखिए पनि तराई क्षेत्र भने तातो हावा र गर्मीको चपेटामा पर्ने देखिएको छ।
विशेष गरी मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, उपत्यका र खोँचहरूमा आज ‘तातो दिन’ हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने तातो लहर (Heat Wave) चल्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ। राति हिमाली क्षेत्रमा आंशिक बदली रहे पनि अन्य भू-भागको मौसम सफा रहनेछ। कोशी र गण्डकीको हिमाली भेगमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।





