कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवस: प्रचण्डद्वारा वामपन्थी शक्तिहरूलाई एकता र पुनर्गठनको आह्वान

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको ७७ औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण वामपन्थी र कम्युनिस्ट शक्तिहरूबीचको बृहत्तर एकतामा जोड दिनुभएको छ। वि.सं. २००६ साल वैशाख ९ गते स्थापना भएको कम्युनिस्ट पार्टीले सामन्ती निरङ्कुशताको अन्त्य गरी देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन ऐतिहासिक भूमिका खेलेको उहाँले स्मरण गर्नुभएको छ।

प्रचण्डले आफ्नो सन्देशमा समाजमा शोषण, दमन र विभेदका नयाँ स्वरूपहरू अझै कायम रहेको उल्लेख गर्दै जनताको आफ्नै व्यवस्था पूर्ण रूपमा स्थापित नभएसम्म कम्युनिस्ट पार्टीको औचित्य रहिरहने स्पष्ट पार्नुभएको छ। वर्तमान विश्व परिवेशमा साम्राज्यवाद र फासिवादी प्रवृत्तिका विरुद्ध लड्न लेनिनका शिक्षाहरू अझ बढी सान्दर्भिक भएको उहाँको तर्क छ। नेपाली क्रान्तिलाई नयाँ उचाइमा पुर्‍याउन र समतामूलक समाज निर्माणका लागि छरिएर रहेका शक्तिहरूबीचको मोर्चाबन्दी अपरिहार्य रहेको उहाँले बताउनुभयो।

शुभकामना सन्देशमार्फत प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनको समग्र पुनर्गठनका लागि सबैमा हार्दिक आह्वान समेत गर्नुभएको छ। विगतका जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा, शान्ति सम्झौताको पालना र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि परिवर्तनकारी शक्तिहरू एक ठाउँमा उभिनुपर्नेमा उहाँले विशेष जोड दिनुभएको छ। उत्पीडित समुदायको अधिकार र राष्ट्रिय स्वाधीनताको संरक्षण कम्युनिस्ट आन्दोलनबाट मात्र सम्भव हुने उहाँको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा