काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले पद बहाली गरेको ५१ दिनको अवधिमा नीतिगत र कानुनी सुधारका क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको बताएकी छिन्। सोमबार आफ्नो प्रगति विवरण सार्वजनिक गर्दै उनले सरकारको १०० बुँदे कार्यसूची बमोजिम पहिचान गरिएका प्रमुख १५ बुँदाका २८ कार्यहरूमध्ये १५ वटा कार्य सम्पन्न भइसकेको जानकारी दिइन्। यस अवधिमा नेपाल बाल सङ्गठनको जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रक्रिया सुरु गरी सम्बन्धित निकायमा पठाइएको छ भने मन्त्रालयका कर्मचारीहरूका लागि ‘कर्मचारी आचारसंहिता, २०८३’ समेत निर्माण गरी लागू गरिएको छ।
मन्त्रालयले राष्ट्रिय ज्येष्ठ नागरिक नीतिको प्रारम्भिक मस्यौदा तयार गर्नुका साथै राष्ट्रिय बालबालिका नीति २०८० को कार्यान्वयन कार्ययोजना स्वीकृत गरिसकेको छ। यस्तै बालबालिका सम्बन्धी ऐन २०७५, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ को संशोधन मस्यौदा तयार गरी राय सङ्कलन भइरहेको छ। मन्त्रालयलाई प्रविधिमैत्री बनाउन सबै शाखामा जीआईओएमएस लागू गरिएको छ भने बजेट प्रणालीमा बालबालिकातर्फको लगानी पहिचान गर्न नयाँ कार्यविधि स्वीकृत गरिएको छ। यसका साथै समाज कल्याण परिषद्अन्तर्गत भृकुटीमण्डप लगायतको जग्गा संरक्षण र बक्यौता असुल गर्न आवश्यक कारबाही अघि बढाइएको छ।
नागरिक सेवा प्रवाह, गुनासो व्यवस्थापन र उद्धार कार्यलाई उच्च प्राथमिकतामा राख्दै मन्त्रीलाई सिधै क्यूआर कोडमार्फत गुनासो गर्न सकिने र २४ सै घण्टा ११४५ महिला हिंसा हटलाइन चुस्त बनाउने व्यवस्था मिलाइएको छ। यस अवधिमा दुर्गम क्षेत्रका १३ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार गरिएको छ, ३० जना सडक बालबालिकालाई संरक्षण दिइएको छ र हराएका ८७९ बालबालिकामध्ये ४९४ जनाको पारिवारिक पुनर्मिलन गराइएको छ। आगामी दिनहरूमा सेवा प्रवाहमा सरलीकरण र सामाजिक सुरक्षा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनले नागरिक कल्याणमा ठोस योगदान पुग्ने विश्वास मन्त्री बादीले व्यक्त गरेकी छिन्।





