बजेट छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित भएपछि डा. अमरेशकुमार सिंहको आक्रोश: ‘२० वर्षे कार्यकालमा पहिलो पटक यस्तो देखेँ’

काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएको भन्दै गम्भीर आपत्ति जनाएका छन्। मङ्गलवार प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथिको जारी छलफलका क्रममा आफ्नो धारणा राख्दै उनले सरकारले नयाँ र परम्परा तोड्ने नाममा गर्दै नहुने काम गरिरहेकाले आफू संसद्‌मा कडा रूपमा प्रस्तुत हुन बाध्य भएको स्पष्ट पारे। संसदीय व्यवस्थामा बजेटबारे छलफल हुँदा अर्थमन्त्री अनिवार्य उपस्थित हुने स्थापित र मर्यादित परम्परा रहेकाले त्यसलाई सरकारले दृढतापूर्वक पालना गर्नुपर्नेमा उनले जोड दिए।

आफ्नो आक्रोश पोख्दै सांसद सिंहले सरकारको यो कदमले संसद्को औचित्य नै समाप्त पार्ने अवस्था ल्याउन खोजेको आरोप लगाए। नयाँ बन्ने नाममा देशका सबै मूल्य र मान्यता भत्काउने छुट सरकारलाई नभएको उल्लेख गर्दै उनले भने, “बजेट विनियोजन प्राथमिकता हुँदाखेरी अर्थमन्त्री जहिले पनि बस्ने सिस्टम थियो। हाम्रो देश र संविधानले पार्लियामेन्ट्री सिस्टम अङ्गीकार गरेको छ, जहाँ प्रश्न सरकारसँग गरिन्छ र सांसदले जनताका कुरा सरकारसमक्ष राख्छन्। यो २० वर्षको कार्यकालमा म पहिलो चोटी देख्दैछु कि अर्थमन्त्री नभएर पनि यो बजेट विनियोजन विधेयकको छलफल चल्दैछ।”

सांसद सिंहले आफू पटक–पटक संसद्‌मा निर्वाचित भएर आएको लामो अनुभव रहेको सुनाउँदै संसद्‌मा बजेट सम्बन्धी महत्त्वपूर्ण छलफल हुँदा विभागीय मन्त्री नै अनुपस्थित भएको घटना आफ्नो जीवनमै पहिलो पटक देखेको भन्दै आक्रोश व्यक्त गरे। उनले व्यङ्ग्य गर्दै नयाँका नाममा सबै भत्काउने भए सिंहदरबार, प्रधानमन्त्री र मन्त्री पद नै भत्काउन चुनौती समेत दिए। सरकार जतिसुकै व्यस्त भए पनि संसद् र बजेट निर्माणको प्रक्रियालाई हल्का रूपमा लिन नहुने भन्दै उनले यस्ता गलत परम्पराले लोकतान्त्रिक प्रणालीलाई नै कमजोर बनाउने तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा