काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बुधबार छुट्टाछुट्टै समयमा बस्दै छ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजेका लागि आह्वान गरिएको छ। आजको बैठकमा दुवै सदनमा बजेट पूर्वको महत्त्वपूर्ण दस्तावेज पेस हुने कार्यसूची रहेको छ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ। यस्तै, बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्ने मुख्य कार्यक्रम रहेको छ। यसका साथै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।
यता दिउँसो बस्ने राष्ट्रियसभाको बैठकमा पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन्। सोही बैठकमा मन्त्री वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
संसद्का मुख्य बैठकहरू बस्नुअघि आजै बिहान प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक समेत बस्दै छ। देशैभरका किसानहरूले भोग्दै आएको रासायनिक मलको चरम अभाव र आपूर्ति समस्यालाई मध्यनजर गर्दै समितिले यस विषयमा केन्द्रित रहेर विशेष छलफल गर्न लागेको हो। बैठकमा रासायनिक मलको वर्तमान मौज्दात, वितरण प्रणाली र आगामी भावी योजनाका सम्बन्धमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका उच्च पदाधिकारीहरूलाई आमन्त्रण गरी विस्तृत छलफल गरिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।





