काठमाडौँ । नेकपा (एमाले)ले स्थानीय तह र प्रदेशको आसन्न निर्वाचनलाई मध्यनजर गर्दै देशभर एकैसाथ ‘पार्टी जागरण अभियान’ सुरु गर्ने घोषणा गरेको छ। हालै सम्पन्न केन्द्रीय सचिवालय बैठकका निर्णयहरूलाई मातहतका कमिटीहरूमा प्रेषित गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानि) २ जारी गर्दै यस अभियानको औपचारिक खाका सार्वजनिक गरेका हुन्। गणतन्त्र दिवसको अवसरमा जारी गरिएको उक्त अपानिमा नेताहरूको कार्यविभाजन र जिम्मेवारी स्पष्ट रूपमा तोकिएको छ।
अभियानलाई प्रभावकारी र परिणाममुखी बनाउन एमालेले केन्द्रीय पदाधिकारीबाहेकका सबै केन्द्रीय सदस्यहरूलाई भूगोल (पालिका) केन्द्रित जिम्मेवारी सुम्पेको छ। केन्द्रीय सदस्यहरूलाई जनसङ्गठन इन्चार्ज तथा विभाग प्रमुखको जिम्मेवारी तोकिए पनि उनीहरूले आफू मातहतका तोकिएका पालिकामा खटिएर जागरण अभियानको नेतृत्व गर्नुपर्नेछ। केन्द्रीय सदस्यहरूको सङ्ख्या मात्र पालिका स्तरमा अपर्याप्त हुने देखिएकाले पार्टीले केन्द्रीय निकायका सदस्य र अगुवा कार्यकर्ताहरूलाई समेत यो अभियानमा परिचालन गर्ने निर्णय गरेको छ। नेताहरूलाई सामान्यतया बढीमा दुईवटा पालिकाको जिम्मेवारी दिइएको छ भने जिल्ला इन्चार्जहरूलाई समेत आफ्नै जिल्लाका पालिका स्तरका कार्यक्रममा अनिवार्य सहभागी हुन निर्देशित गरिएको छ।
पार्टीको कार्यविभाजन अनुसार अध्यक्ष ओलीले समग्र अभियानको नेतृत्व गर्नेछन् भने महासचिवले साङ्गठनिक कामको संयोजन र केन्द्रीय कार्यालय प्रमुखको भूमिका निभाउनेछन्। त्यस्तै, उपाध्यक्ष र उपमहासचिवहरूलाई विभिन्न विभाग तथा फाँटहरूको संयोजन गर्ने जिम्मेवारी दिइएको छ। पार्टीका ९ जना सचिवहरूमध्ये ६ जनालाई प्रादेशिक इन्चार्जको कमान्ड सुम्पिइएको छ, जसमा छविलाल विश्वकर्मा (लुम्बिनी), खगराज अधिकारी (गण्डकी), यामलाल कँडेल (कर्णाली), शेरधन राई (कोशी), राजन भट्टराई (राजधानी विशेष प्रदेश) र महेश बस्नेत (बागमती प्रदेश) रहेका छन्। कोशीका मुख्यमन्त्री एवं सचिव हिक्मत कार्कीलाई विपद् व्यवस्थापन तथा स्वयम्सेवा, पद्मा अर्याललाई संसदीय मामिला र भानुभक्त ढकाललाई सङ्गठन विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ। यसैगरी, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा निरज आचार्य र प्रेस चौतारी नेपालको इन्चार्जमा रामकुमारी झाँक्री चयन भएका छन्। निर्वाचनपछि कतिपय क्षेत्रमा सुस्ताएका कमिटीहरूलाई ब्युँताउन र पार्टी गतिविधिलाई पुनः चलायमान बनाउन यो अभियान कोसेढुङ्गा साबित हुने एमालेको विश्वास छ।





