हेटौँडा । नेकपा (एमाले) बागतमी प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संघीय संसद्मा दिएको अभिव्यक्ति राष्ट्रघाती भएको आरोप लगाएका छन्. आइतबार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भनी दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै नेता थपलियाले यस कदमले इतिहासमा कालो धब्बा पोतिएको टिप्पणी गरे.
बागमती प्रदेश सभाको सोमबार बसेको बैठकमा बोल्दै नेता थपलियाले भारतीय सञ्चारमाध्यमले समेत दाबी नगरेको कुरा बोलेर प्रधानमन्त्रीले विश्वसामु नेपालीको शिर निहुराउने काम गरेको बताए. उनले प्रधानमन्त्री शाहले संसद्मार्फत नेपाली जनतासँग सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै प्रदेश सभाले उक्त अभिव्यक्तिविरुद्ध खेद प्रस्ताव पारित गर्नुपर्ने धारणा राखे.
यसका साथै नेता थपलियाले संघीय सरकारले सार्वजनिक गरेको नयाँ बजेट जनविरोधी भएको आरोप समेत लगाए. विद्युत् महसुलमा लगाइएको ५ प्रतिशत भ्याट र विद्युतीय सवारी साधनमा २२५ प्रतिशतसम्म पुर्याइएको कर वृद्धिले स्वदेशी उद्योग र वातावरणमैत्री पहललाई निरुत्साहित गरेको उनको भनाइ छ. उनले निजी विद्यालयमा पढ्ने विद्यार्थीका लागि ३ प्रतिशत शिक्षा कर थपिएको, स्वास्थ्य क्षेत्रमा भार बढाइएको र स्वास्थ्य बीमा कार्यक्रमबाट निजी अस्पतालहरूलाई हटाइनु अन्यायपूर्ण भएको भन्दै सरकारको विभेदकारी कर नीतिको खण्डन गर्ने र सुधारका लागि दबाब दिने चेतावनी दिए.




