गगन र विश्वप्रकाशको गर्जन: ‘प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर र आपत्तिजनक, संसद्लाई तत्काल जवाफ दिनुपर्छ’

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नेपाल–भारत सीमा समस्याका सम्बन्धमा संघीय संसद्‍मा दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरूले कडा आपत्ति जनाउँदै संसद्मा तत्काल जवाफ माग गरेका छन्। सोमबार लुम्बिनी प्रदेशमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको भनाइ कूटनीतिक मर्यादाविपरित र गैरजिम्मेवार भएको टिप्पणी गरेका हुन्।

कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई ‘अराजक कर्म’ को संज्ञा दिए। उनले भने, ‘प्रधानमन्त्रीले संसद्‌मा उभिएर यसको जवाफ दिनुपर्छ। उहाँ व्यक्ति होइन, देशको प्रधानमन्त्री हो। सीमाको प्रश्न हल गर्ने विषयको नेतृत्व गर्नुपर्ने प्रधानमन्त्रीले यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिनु गलत मात्रै होइन, अराजक कर्म हो।’ प्रधानमन्त्री जस्तो गरिमामय ओहोदामा बसेको व्यक्तिबाट यस्ता गम्भीर राष्ट्रिय हितका विषयलाई गिजोल्ने कार्य हुनु अत्यन्तै दुःखद र लज्जास्पद भएको थापाको भनाइ थियो।

त्यसैगरी, कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पनि प्रधानमन्त्रीको भनाइ गम्भीर र आपत्तिजनक रहेको उल्लेख गर्दै कडा प्रश्न उठाएका छन्। ‘संसारको एकमात्र प्रधानमन्त्री जो देशको संसद्‌मा उभिएर मेरो देशले छिमेकीको सीमा मिचेको छ भन्दैछ,’ शर्माले आश्चर्य प्रकट गर्दै प्रश्न गरे, ‘यसको मतलब के अब हिसाब बराबर हो ?’ आइतबार संसद्को प्रश्नोत्तर सेसनमा प्रधानमन्त्री शाहले ‘भारतले मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको छ’ भनी दिएको बयानले राजनीतिक वृत्त तरंगित बनेको बेला कांग्रेसका शीर्ष नेताहरूले यसको संस्थागत विरोध गर्दै संसद्को रोस्ट्रमबाटै आधिकारिक स्पष्टीकरण आउनुपर्ने माग गरेका हुन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा