“भारत बालेनसँग खुसी छैन, रवि लामिछानेलाई नेपालको नेतृत्वमा स्थापित गर्न चाहन्छ”: रामबहादुर थापा ‘बादल’

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले वर्तमान सरकार र प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको कडा आलोचना गर्दै गम्भीर राजनीतिक आरोप लगाएका छन्। शुक्रबार एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको चासो र चलखेल बढेको दाबी गरे।

नेता थापाले प्रधानमन्त्री शाहले संसद्‌मा सीमा विवादबारे दिएको अभिव्यक्ति सत्ता टिकाउने खेल मात्र भएको आरोप लगाए। “प्रधानमन्त्रीले नेपालले भारतको धेरै जग्गा मिचेको भनी दिएको अभिव्यक्ति राजनीतिक भाषामा राष्ट्रिय आत्मसमर्पणवाद हो”, थापाले भने, “यसको अर्थ भारतलाई आफ्नो सत्ता टिकाइदिन प्रस्ताव गर्नु र बरु जग्गा फिर्ता दिन्छौँ भन्ने आशय देखाउनु हो।” उनले वर्तमान सरकार स्वेच्छाचारिता र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै यसले लोकतान्त्रिक संस्था र गणतन्त्रकै धज्जी उडाएको टिप्पणी गरे।

यसै गरी, थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हालैको भारत भ्रमण र त्यहाँ उहाँलाई दिइएको उच्चस्तरीय स्वागतप्रति पनि कडा संशय व्यक्त गरे। एउटा पार्टी अध्यक्षलाई भारतमा प्रधानमन्त्री, गृहमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारस्तरबाट भव्य स्वागत गरिनु सामान्य नभएको उनको तर्क थियो। थापाले अगाडि थपे, “यसको राजनीतिक अर्थ बाह्य शक्तिहरू अहिलेको विद्यमान नेतृत्वसँग सन्तुष्ट छैनन् र नेपालको नेतृत्वमा रवि लामिछानेलाई स्थापित गर्न मद्दत गर्न चाहन्छन् भन्ने सङ्केत देखिन्छ।” एमालेले आफ्ना कमजोरीहरू सुधार्दै नयाँ विचार र नीतिका आधारमा पार्टी पुनर्गठन गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा