चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आफ्नो विस्तृत राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। मङ्गलबार पेस गरिएको ‘चार वर्षमा शून्यबाट सिंहदरबारसम्म’ शीर्षकको प्रतिवेदनमा रास्वपा स्थापनाको औचित्य, पार्टीको चार वर्षे यात्राको समीक्षा र आगामी राजनीतिक मार्गचित्र समेटिएको छ।
प्रतिवेदनमा लामिछानेले देशको लोकतन्त्रलाई ‘नेतातन्त्रले चपाइरहेको’ र नेतातन्त्रलाई ‘बिचौलियाले नचाइरहेको’ गम्भीर टिप्पणी गरेका छन्। उनले पुराना र स्थापित भनिएका दलहरूलाई ‘अपराजेय पहाड’ नभई ‘फोहोरका थुप्रा’ को संज्ञा दिँदै देशमा व्याप्त तिनै बेथिति अन्त्य गर्न रास्वपाको जन्म भएको उल्लेख गरेका छन्। बालेन शाह काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि परम्परागत दलप्रतिको जनअसन्तुष्टि छताछुल्ल भएको र वैकल्पिक राजनीतिक शक्तिको लागि जनमत तयार भएको निष्कर्ष पनि प्रतिवेदनमा छ।
यसका साथै, लामिछानेले छोटो समय सरकारमा रहँदा सुशासन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा सुधारमा रास्वपाले मानक स्थापित गरेको दाबी गरेका छन्। भुटानी शरणार्थी प्रकरण जस्ता ठूला भ्रष्टाचारका फाइल खोल्न थालेपछि आत्तिएर पुराना दलहरू सरकार बनाउन एक ठाउँमा उभिएको उनको आरोप छ। रास्वपाले आफूलाई परम्परागत वामपन्थी वा दक्षिणपन्थीको घेरामा नराखी ‘सामाजिक लोकतन्त्र’ को धारमा अघि बढाउने वैचारिक स्पष्टता समेत यस प्रतिवेदनमार्फत दिएको छ।





