काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेपालमा कम्युनिस्ट आन्दोलन जीवित नरहेको दाबी गरेका छन्। सोमबार पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा लिखित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद’ सम्बन्धी पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले कम्युनिस्ट पार्टीको पुनर्गठन आवश्यक रहेको औँल्याए।
शर्माले भने, “नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन्। ७० प्रतिशत वामपन्थी, प्रगतिशील र देशभक्तहरूको जनमत अहिले विघटन भइसकेको छ। यसलाई पुनर्गठन गर्न नयाँ अभियानको आवश्यकता छ।” कम्युनिस्ट पार्टीको नाममा विगतमा गरिएका कामहरूको आजको अवस्था हेर्दा आन्दोलनको अस्तित्व नदेखिएको उनको भनाइ थियो।
कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवन दिन वैज्ञानिक समाजवादी धाराको दृष्टिकोणबाट वैचारिक, आर्थिक, सामाजिक र न्यायको आधारमा पार्टी पुनर्गठन गर्नुपर्नेमा उनले विशेष जोड दिएका छन्।





