मन्त्रिपरिषद् बैठकका महत्त्वपूर्ण निर्णय: दुई नियमावली र दुई नीति स्वीकृत, प्रहरीका ८ एआईजीको सरुवा

काठमाडौँ । सरकारले ‘कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली २०८३’ र ‘शिक्षा दशौँ संशोधन नियमावली २०८३’ स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था मन्त्रालय र शिक्षा मन्त्रालयको प्रस्तावमा उक्त नियमावलीहरू स्वीकृत गरेको हो। यसका साथै, बैठकले ‘राष्ट्रिय सदाचार नीति २०८३’ र ‘राष्ट्रिय विज्ञापन नीति २०८३’ लाई पनि स्वीकृति प्रदान गरेको छ।

बैठकले गृह मन्त्रालयको सिफारिसमा नेपाल प्रहरीमा कार्यरत ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको सरुवा गर्ने निर्णय गरेको छ। यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गरिएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धर्मराज खड्का नियुक्त भएका छन्।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, संयुक्त राष्ट्रसङ्घको ‘राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो उपयोग’ सम्बन्धी सम्झौतालाई अनुमोदनका लागि सङ्घीय संसद्‌मा पेस गर्नसमेत स्वीकृति दिइएको छ। यसका अतिरिक्त, विद्यालयहरूले बर्सेनि भर्ना शुल्क लिन नपाउने नियमलाई कडाइका साथ लागू गर्न स्थानीय तहहरूसँग समन्वय गरिने र त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा खाली गराउन आवश्यक प्रक्रिया अघि बढाइएको मन्त्री पोखरेलले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा