काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद पेचिलो बन्दै गइरहेका बेला देउवा समूहका शीर्ष नेताहरूको महत्त्वपूर्ण बैठक सुरु भएको छ। पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा उक्त छलफल अगाडि बढेको हो।
बैठकमा पार्टीको आन्तरिक विवाद, आगामी रणनीति र समसामयिक राजनीतिक घटनाक्रमबारे सघन छलफल भइरहेको नेता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्। बैठकमा नेता खड्कासहित प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, महालक्ष्मी उपाध्याय ‘डिना’, डा. शशाङ्क कोइराला, रमेश लेखक, एनपी साउद, डा. महत, मीनबहादुर विश्वकर्मा, आनन्दप्रसाद ढुङ्गाना, वीरबहादुर बलायर, श्याम घिमिरे र मोहनबहादुर बस्नेत लगायतका प्रभावशाली नेताहरूको उपस्थिति रहेको छ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा असन्तुष्टि जनाउँदै सहभागी नभएको यो समूह त्यसयता पार्टीसत्ता बाहिर रहँदै आएको छ। यसअघि सातवटै प्रदेशमा आफ्नो समूहको छुट्टै भेला सफलतापूर्वक सम्पन्न गरिसकेको यस पक्षले आजको बैठकबाट कांग्रेसको ‘राष्ट्रिय भेला’ बोलाउने विषयमा ठोस निर्णय लिन सक्ने बताइएको छ। संस्थापन पक्षको कार्यशैलीप्रति असन्तुष्ट रहेको देउवा समूहले आगामी दिनमा पार्टीभित्र आफ्नो उपस्थिति थप बलियो बनाउने रणनीति तय गर्न लागेको हो।




