काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तुलनामा आफूहरूलाई कमजोर पार्न सक्ने सामर्थ्य अन्य कसैसँग नभएको दाबी गरेका छन्। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू र माधवकुमार नेपाललाई फसाउने वा सिध्याउने षड्यन्त्र बुन्ने मामिलामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को ‘हाइट’ नपुग्ने टिप्पणी गरेका हुन्।
वर्तमान सरकारप्रति लक्षित गर्दै प्रचण्डले आफूहरूले साँच्चै नै कुनै गल्ती गरेको भए केपी ओलीले यसअघि नै जेल हालिसक्ने जिकिर गरे। “हामीलाई फसाउने र सिध्याउने कसरी भन्नेमा केपीको हाइटमा बालेनजी छैनन्,” उनले भने। आफूहरूलाई कमजोर पार्न ओलीले विगतमा आफ्नो सम्पूर्ण शक्ति लगाएको स्मरण गर्दै उनले अहिलेको सरकारले त्यस्तो कुनै नयाँ कदम चाल्न नसक्ने सङ्केत गरे।
यसैबिच, दुबईमा आफ्नो १४० अर्ब रुपैयाँ रहेको भनी फैलाइएको हल्ला पूर्णतः निराधार र भ्रामक रहेको भन्दै उनले तीव्र असन्तुष्टि व्यक्त गरे। आगामी महाधिवेशनसम्म पार्टीलाई सुदृढ बनाउँदै युवा पुस्तालाई नेतृत्वमा स्थापित गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको प्रचण्डले खुलाए। यति धेरै तिक्तताका बाबजुद पनि वामपन्थी आन्दोलनको रक्षा र आवश्यकताका लागि आफूहरू अझै पनि सहकार्य र एकताको पक्षमा उभिएको उनले प्रस्ट पारे।




