काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशनको ३१औँ बैठक आज बस्दैछ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विभिन्न मन्त्रालयका महत्त्वपूर्ण विधेयक तथा अन्तर्राष्ट्रिय महासन्धिमाथि छलफलका प्रस्तावहरू पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
सचिवालयद्वारा सार्वजनिक सम्भावित कार्यसूचीअनुसार, बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन्। यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने कार्यक्रम रहेको छ।
साथै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव गर्नेछन्। त्यस्तै, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) सँग सम्बन्धित बाध्यकारी श्रम महासन्धि र श्रम निरीक्षण सम्बन्धी महासन्धिमाथि विचार गरियोस् भन्ने दुई छुट्टाछुट्टै प्रस्ताव पेस गर्ने संसद् सचिवालयले जानकारी दिएको छ।





