काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमको व्यस्तताका कारण एक दिनका लागि स्थगित भएको छ। बुधबार दिउँसो १५ मिनेटका लागि रोकिएको बैठक विशेष कारणवश निर्धारित समयमा बस्न नसकेपछि सूचना टाँसेर बिहीबार बिहान ११ बजेसम्मका लागि सारिएको हो।
सभामुखको निर्देशनअनुसार सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम बैठक स्थगित गरिएको सूचना जारी गरेका हुन्। कानुनमन्त्री गौतम राष्ट्रिय सभाअन्तर्गतको समितिमा प्रतिस्थापन विधेयकमाथिको छलफलमा व्यस्त हुनुपरेकाले प्रतिनिधिसभाको निर्धारित कार्यसूची प्रभावित बन्न पुगेको हो।
बुधबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुनमन्त्री गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/०८२’ र ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१/०८२’ पेस गर्ने प्रमुख कार्यसूची तय भएको थियो। यसका साथै, प्रधानमन्त्रीकै तर्फबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने कार्यक्रम पनि रहेको थियो। अब यी सम्पूर्ण स्थगित कार्यसूचीहरू बिहीबारको बैठकमा अगाडि बढाइने संसद् सचिवालयले जनाएको छ।





