काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठकले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ सर्वसम्मतिले पारित गरेको छ। बिहीबार बसेको सभाको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उक्त विधेयक पारित गरियोस् भनी राखेको प्रस्तावलाई सर्वसम्मत रूपमा अनुमोदन गरिएको हो।
यसअघि अध्यादेशलाई प्रतिस्थापन गर्ने उद्देश्यले ल्याइएको यो विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रिय सभामा पुगेको थियो। विधायन व्यवस्थापन समितिले परिमार्जनसहित तयार पारेको प्रतिवेदनलाई सभाले स्वीकार गरेसँगै अब यो विधेयक आवश्यक कानुनी प्रक्रियाका लागि पुनः प्रतिनिधिसभामा फिर्ता पठाइनेछ। बैठकमा भएको छलफलका क्रममा सांसद वासुदेव घिमिरेले समितिले राखेका संशोधन प्रस्तावहरूलाई सरकारले सहज रूपमा स्वीकार गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए।
समय अभावका बाबजुद पनि छोटो अवधिमै सघन छलफल गरी अध्यादेश प्रतिस्थापनसम्बन्धी चारवटा र बजेट आश्रित दुईवटा विधेयक पारित गर्न सफल भएकोमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सम्बन्धित मन्त्री तथा सम्पूर्ण सांसदहरूप्रति आभार प्रकट गरेका छन्। राष्ट्रिय सभाको आगामी बैठक शुक्रबार दिउँसो १:१५ बजे बस्ने गरी तय गरिएको छ।




