काठमाडौँ । नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद समाधान गर्दै पार्टी एकतालाई जोगाउन निवर्तमान सभापति शेरबहादुर देउवा समूह लचिलो बन्ने भएको छ। काठमाडौँको चुनदेवीमा लगातार तीन दिनसम्म चलेको देउवा पक्षका शीर्ष नेताहरूको बैठकले पार्टी विभाजनलाई रोक्न हदैसम्मको लचिलो नीति अपनाउने निष्कर्ष निकालेको हो।
पार्टीको १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक र विशेष महाधिवेशनपछिको केन्द्रीय समिति व्यवस्थापनका विषयमा उत्पन्न विवादलाई आपसी सहमतिका आधारमा टुङ्ग्याउनुपर्नेमा सो समूहले जोड दिएको छ। बैठकपछि नेताहरूले सदस्यता नवीकरणमा देखिएका प्राविधिक तथा प्रक्रियागत अवरोधहरू हटाएर अघि बढ्न वर्तमान नेतृत्वलाई आग्रह गरेका छन्। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकता जोगाउने मुख्य जिम्मेवारी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको भएको औँल्याउँदै विभाजनको अपजस आफ्नो समूहले नलिने स्पष्ट पारेका छन्।
यद्यपि, वर्तमान नेतृत्वले सहमति र सहकार्यको निरन्तर बेवास्ता गरेमा नयाँ बाटो तय गर्नुपर्ने बलियो आवाज पनि बैठकमा उठेको छ। केही प्रभावशाली तथा युवा नेताहरूले नयाँ पार्टी निर्माण गरेर छुट्टै ढङ्गले अघि बढ्नुपर्ने धारणा राखे पनि शीर्ष नेताहरूले भने तत्काल सहमतिकै प्रयासलाई निरन्तरता दिने निर्णय गरेका हुन्। यसैबिच, देउवा समूहले आगामी साउन ६ गते पर्ने बीपी स्मृति दिवसलाई आफ्नै छुट्टै कार्यतालिका अनुसार मनाउने र थप आन्तरिक छलफलपछि छिट्टै राष्ट्रिय भेलाको मिति तय गर्ने निर्णयसमेत गरेको छ।




