सरकारको १०० दिने कार्यकालमाथि राजेन्द्र महतोको कडा प्रहार: ‘कामकारबाहीमा निरङ्कुशताको गन्ध आयो, समयमै सच्चिन चेतावनी’

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले वर्तमान सरकारको १०० दिने कामकारबाहीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। उनले सरकारको कार्यशैलीमा रूपान्तरण र नयाँपन नभई ‘पुरानै निरङ्कुशताको गन्ध’ आएको भन्दै जनताको धैर्यको बाँध टुट्नुअघि नै आफ्नो बाटो सच्याउन सरकारलाई कडा चेतावनी दिएका छन्।

एक सार्वजनिक वक्तव्य जारी गर्दै अध्यक्ष महतोले सरकारले न्याय, संवेदनशीलता र समावेशितालाई लत्याउँदै अधिनायकवादी बाटो समातेको आरोप लगाएका छन्। गरिब बस्तीहरूमा डोजर चलाउने, सीमावर्ती क्षेत्रका नागरिकमाथि कठोर व्यवहार गर्ने र मेरिटोक्रेसीको बहानामा समानुपातिक समावेशिताको उपेक्षा गर्ने जस्ता कार्यले जनआक्रोश बढाएको उनको ठहर छ। साथै, बजेटले बिचौलिया पुँजीवादलाई मात्र प्रोत्साहन गरेको, किसान र युवाको हितलाई बेवास्ता गरेको तथा स्वास्थ्य र शिक्षाजस्ता मौलिक हकमा समेत कर लगाउने सरकारी नीति पूर्णतः जनविरोधी रहेको उनले बताए। राज्यको मानवीय असंवेदनशीलताको उदाहरण दिँदै उनले गणेश नेपालीको आत्मदाह प्रकरणलाई समेत सरकारको कमजोरीको रूपमा औँल्याएका छन्।

संविधान संशोधनको नाममा सङ्घीयतालाई कमजोर पार्ने गम्भीर षड्यन्त्र भइरहेको भन्दै महतोले सङ्घीयता हजारौँ सहिदको बलिदानबाट प्राप्त भएको स्मरण गराएका छन्। १० प्रदेश र २४ स्वायत्त क्षेत्रसहितको राज्य पुनर्संरचना, लाल आयोगको प्रतिवेदन सार्वजनिक, समानुपातिक समावेशिताको ग्यारेन्टी र आन्दोलनकारीमाथिका मुद्दा फिर्ता लगायतका ऐतिहासिक मागहरू तत्काल सम्बोधन हुनुपर्नेमा उनले जोड दिएका छन्। प्राप्त उपलब्धिहरूको रक्षा र थप अधिकार प्राप्तिका लागि सम्पूर्ण लोकतान्त्रिक, पहिचानवादी तथा परिवर्तनकामी शक्तिहरूलाई साझा अभियानमा एकजुट हुन समेत उनले आह्वान गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा