हेटौँडा । केन्द्रमा विकसित बदलिँदो राजनीतिक घटनाक्रमसँगै बागमती प्रदेश सरकारको सत्ता समीकरणमा ठुलो फेरबदल आउने भएको छ। सत्ता साझेदार दल नेकपा (एमाले) ले बागमती प्रदेश सरकारबाट बाहिरिने र मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारी गरेको छ। पार्टी शीर्ष नेतृत्वको निर्देशनअनुसार एमालेका तर्फबाट सरकारमा सहभागी ६ जना मन्त्रीहरूले सोमबार सामूहिक राजीनामा बुझाउने बुझिएको छ।
मुख्यमन्त्री बानियाँले हालै प्रदेशका १४ मन्त्रालयलाई घटाएर ८ वटा कायम गर्ने निर्णय गरेसँगै एमालेका ३ र कांग्रेसका ३ गरी ६ जना मन्त्रीहरूलाई जिम्मेवारीविहीन (बिनाविभागीय) बनाइएको थियो। मन्त्रीहरूलाई विभागविहीन बनाइएपछि असन्तुष्ट बनेको एमाले अन्ततः सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो। बागमतीमा गत साउनदेखि नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार क्रियाशील रहँदै आएको थियो।
एमाले सरकारबाट बाहिरिने भएसँगै प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरू आन्तरिक छलफल र अंकगणितको जोडघटाउमा जुटेका छन्। कुल १०४ सदस्यीय बागमती प्रदेशसभामा नयाँ सरकार बनाउन ५३ सांसदको बहुमत आवश्यक पर्छ। हाल प्रदेशसभामा ३६ सिटसहित नेपाली कांग्रेस सबैभन्दा ठुलो दलका रूपमा रहेको छ भने नेकपाको २६ सिट र नेकपा (एमाले) को २५ सिट रहेको छ। यसैगरी राप्रपाको १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट रहेको छ।
नयाँ सत्ता समीकरणका लागि २६ सिट भएको नेकपा निर्णायक शक्तिका रूपमा देखिएको छ। वर्तमान सरकार टिकाउन कांग्रेसले नेकपासँग संवाद अगाडि बढाएको छ भने अर्कोतर्फ एमालेले पनि वाम गठबन्धनको प्रस्तावसहित नेकपासँग छलफल तीव्र पारेको छ। निर्णायक भूमिकामा रहेको नेकपाले भने आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने दाबी अघि सारेको छ। केन्द्रीय नेतृत्वको निर्णय पर्खिएर बसेका प्रादेशिक नेताहरूले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारे आन्तरिक कसरतलाई थप तीव्र बनाएका छन्।




