काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल वैदेशिक व्यापार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। भन्सार विभागले सार्वजनिक गरेको वार्षिक तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा १५.८८ प्रतिशतले वृद्धि भई कुल वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ पुगेको हो।
समीक्षा अवधिमा कुल आयात १६.२० प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख रुपैयाँ नाघेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा नेपालले १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको थियो। अर्कोतर्फ, निर्याततर्फ पनि १३.८१ प्रतिशतको सुधार दर्ता भएको छ। गत आर्थिक वर्षमा ३ खर्ब १५ अर्ब २९ करोड ४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन अघिल्लो वर्ष २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँमा सीमित थियो।
आयातको तुलनामा निर्यातको वृद्धिदर सुस्त रहेकाले देशको व्यापार घाटा थप पेचिलो बनेको छ। कुल व्यापार घाटा १६.६३ प्रतिशतले बढेर १७ खर्ब ८१ अर्ब ८ करोड ८५ लाख रुपैयाँ पुगेको छ। हालको तथ्याङ्क अनुसार नेपालले १ रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसा बराबरको वस्तु आयात गर्ने गरेको देखिन्छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.९३ प्रतिशत रहँदा निर्यातको हिस्सा भने केवल १३.०७ प्रतिशतमा सीमित भएको छ।




