बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका व्यक्तिहरूको शव पहिचान तथा व्यवस्थापनको अवस्थाबारे बुझ्न लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको स्थलगत अनुगमन गरेका छन्।
मुख्यमन्त्री आचार्यले मंगलबार अस्पताल पुगेर बाढी प्रभावित क्षेत्रबाट ल्याइएका शवको डीएनए परीक्षण, पहिचान र व्यवस्थापन प्रक्रियाबारे अस्पताल प्रशासनसँग विस्तृत जानकारी लिए। अस्पतालका अनुसार बाढी प्रभावित क्षेत्रबाट ल्याइएका ३९ वटा शवमध्ये २० वटाको डीएनए परीक्षणपछि व्यवस्थापनका लागि नवलपरासी पठाइएको छ भने हाल १८ वटा शव अस्पतालको नयाँ मर्चरीमा राखिएको छ।
प्रदेश सरकारले बाढी-पहिरोमा परी ज्यान गुमाएकाहरूको शव सुरक्षित राख्न र व्यवस्थापनमा हुने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरिसकेको छ। अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले मृतकका आफन्तजनलाई सहजीकरण हुने गरी संवेदनशीलताका साथ शव पहिचान कार्य द्रुत गतिमा अघि बढाउन अस्पताल प्रशासनलाई निर्देशन दिए।




