काठमाडौँ । भोटेकोशी र त्रिशूली बाढी प्रभावित क्षेत्रमा खटिएका पार्टीका मन्त्री, सांसद तथा नेताहरूलाई नेतृत्वले अचानक फिर्ता बोलाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक असन्तुष्टि बढेको छ।
बाढी प्रभावित क्षेत्रमा खटिएका कतिपय जनप्रतिनिधि र नेताहरूले उद्धार टोलीलाई बोझ हुने गरी मिडियाबाजी, फोटोसेसन र स्थानीय जनप्रतिनिधिलाई हप्काएको भन्दै चौतर्फी आलोचना भएको थियो। त्यसपछि सभापति रवि लामिछानेले भर्चुअल बैठकमार्फत उद्धारकर्मीलाई बाधा नपुर्याउन र अनावश्यक भिड नगर्न निर्देशन दिँदै फिल्डमा खटिएका नेता–कार्यकर्तालाई तत्काल फिर्ता हुन कडा निर्देशन दिएका थिए।
तर, निरन्तर सेवा र राहतमा खटिएका नेता तथा सांसदहरूले भने फिल्डमै नबसी उद्धारको वास्तविक स्थिति बुझ्न नसकिने र सबैलाई एउटै डालोमा राखेर फिर्ता बोलाउँदा पार्टीको सक्रियतामाथि नै प्रश्न उठेको भन्दै नेतृत्वको निर्णयप्रति असन्तुष्टि पोखेका छन्।




