काठमाडौँ । तीन दिने नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका विदेशमन्त्री चो र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालबिच आइतबार परराष्ट्र मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको छ। भेटमा दुई देशबिचको कूटनीतिक सम्बन्ध, द्विपक्षीय हित तथा रसुवाको भोटेकोशीमा आएको बाढीपछिको समग्र अवस्था र उद्धार प्रयासका विषयमा गहन छलफल भएको छ।
भेटवार्ताका क्रममा बाढीका कारण अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ९ जना कोरियाली नागरिक बेपत्ता भएको विषयमा समेत छलफल भएको थियो। परराष्ट्रमन्त्री खनालले बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको स्पष्ट पार्दै विपद्को घडीमा कोरिया सरकारबाट प्राप्त खोज, उद्धार तथा मानवीय सहायताप्रति आभार व्यक्त गर्नुभयो। यस्तै, कोरियाली विदेशमन्त्री चोले उद्धार कार्यका लागि ‘कोरिया डिजास्टर रिलिफ टिम’ परिचालन गरिएको र आवश्यकता अनुसार थप प्राविधिक तथा राहत सहयोग पठाउन तयार रहेको प्रतिबद्धता जनाउनुभयो।
दुई मन्त्रीबिच विपद्पछिको पुनर्निर्माणलाई दिगो र सुरक्षित बनाउन ‘बिल्ड ब्याक बेटर’ अवधारणा अनुसार अघि बढाउने विषयमा समेत सहमति जुटेको छ। साथै, जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुकले भोग्नुपरेका चुनौतीबारे संयुक्त राष्ट्रसङ्घीय मञ्चहरूमा साझा आवाज उठाउन र अन्तर्राष्ट्रिय वित्तीय सहयोग जुटाउन दक्षिण कोरियाले नेपालको पक्षमा ऐक्यबद्धता जनाउने विश्वास विदेशमन्त्री चोले दिलाउनुभयो।





