हेटौँडा । बागमती प्रदेश सरकारकी नवनियुक्त मन्त्री रमा आलेमगरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन्। मुख्यमन्त्री किरण थापा मगरको सिफारिसमा मन्त्री नियुक्त भएकी उनलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
शपथ ग्रहण सम्पन्न भएसँगै मन्त्री आलेमगरले कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको कार्यभार सम्हालेकी छिन्। मुख्यमन्त्री थापाले मन्त्रिपरिषद् विस्तार गर्दै उनलाई उक्त मन्त्रालयको जिम्मेवारी तोकेका थिए।
यसअघि शालिकराम जमकट्टेल नेतृत्वको सरकारमा पनि आलेमगरले युवा तथा खेलकुद मन्त्रीको रूपमा जिम्मेवारी सम्हालीसकेकी छिन्। सरकार पुनर्गठन र मन्त्रिपरिषद् विस्तारसँगै उनी पुनः बागमती प्रदेश सरकारको मन्त्री बन्न सफल भएकी हुन्।





