परराष्ट्रमन्त्री खनाल जलवायु संवाद र द्विपक्षीय सम्बन्ध सुदृढ गर्न फिजी र अस्ट्रेलियातर्फ

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय बैठकमा सहभागिता तथा द्विपक्षीय सम्बन्ध विस्तारका लागि आज राति फिजी र अस्ट्रेलियाको औपचारिक भ्रमणका लागि प्रस्थान गर्दै हुनुहुन्छ।

मन्त्री खनालको नेतृत्वमा रहेको चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलले फिजी र टुभालुमा अक्टोबर ५ र ६ मा आयोजित ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागिता जनाउनेछ। सो भ्रमणका क्रममा मन्त्री खनालले अक्टोबर ६ मा हुने नेताहरूको पूर्ण सत्रलाई सम्बोधन गर्नुका साथै पलाउका राष्ट्रपति तथा अस्ट्रेलिया र फिजीका प्रधानमन्त्रीसँग संयुक्त रूपमा आयोजना हुने सञ्चारकर्मीसँगको प्रश्नोत्तर कार्यक्रममा सहभागिता जनाउने कार्यसूची रहेको छ। फिजीको कार्यक्रम पश्चात् उहाँ अस्ट्रेलिया प्रस्थान गरी अक्टोबर ८ मा अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ जसमा नेपाल–अस्ट्रेलिया सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल हुनेछ।

चार सदस्यीय भ्रमण टोलीको यो कूटनीतिक पहलले हिमाली राष्ट्रका सरोकार र जलवायु न्यायका मुद्दाहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउन ठूलो मद्दत पुग्ने विश्वास गरिएको छ। अस्ट्रेलिया भ्रमणका क्रममा क्यानबेरास्थित नेपाली दूतावास र सिड्नीमा नेपाली डायस्पोराद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा समेत मन्त्री खनाल सहभागी हुनेछन् भने सबै कूटनीतिक भेटघाट र कार्यक्रमहरू सम्पन्न गरी उहाँ आगामी अक्टोबर १२ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा