भारतले अतिक्रमण गरी सडक समेत बनाएको भूभागलाई समेटेर सरकारले नयाँ नक्सा पास गरेपछि भारतमा हलचल मच्चिएको छ । यहि सन्दर्भमा नेपाली तथा बलीउड नायिका मनिषा कोइरालाले नेपालको पछमा ट्वीट गरेकी थिइन् । सोहि कारण कोइरालाले भारतिय मीडियाको तारो बनेकी छन् ।
कोइरालाले नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्वीट रिप्लाई गर्दै नेपाल सरकारलाई धन्यवाद दिएकी थिइन् । उनले ट्वीटमा लेखेकी छन्, ‘ हाम्रो सानो राष्ट्रको गरिमा राखेकोमा धन्यवाद । अब तीन वटै राष्ट्रहरुबीच शान्तिमय र सम्मानजनक वार्ताको प्रतिक्षामा छौँ’।
मनिषाको यहि ट्वीटलाई लिएर केहि भारतिय टेलिभिजन च्यानलहरुले उनलाई ‘भारतको खाएर चीनको गीत गाउने’ भन्दै दिनभर प्रशारण गरेका छन् । विभिन्न अनलाईनहरुले पनि नेपालको समर्थन गरी भारतको भुभाग नेपालको भएको मनिषाले बताएको प्रकाशन गरेका छन् ।
उनको सो अभिव्यक्तिमा नेपाल र भारतको सीमा विवादमा नेपालको पक्ष लिएको भन्दै एबिपीले लेखेको थियो, ‘नेपालमा जन्मेकी अभिनेत्री मनिषा कोइरालाले नेपाल सरकारको समर्थन गरेकी छिन् । उनीहरूको सरकारले भारतको तीन क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको रहेको दाबी गरेको छ ।’
बलिउडलाई कर्मथलो बनाएकी अभिनेत्री कोइरालाको अभिव्यक्तिविरुद्ध भारतीय नागरिकहरू आक्रोशित भइरहँदा नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ताहरू उनको पक्षमा उत्रिएका थिए । निकै तल्लोस्तरको गालीगलौज गर्दै अहिले भारतीय मिडियाका सामाजिकसंजाल र भारतीय नागरिकले आक्रोश पोखेका छन् ।
पछिल्लो समय अनलाइन स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सको ‘मस्का’ मा अभिनय गरेकी थिइन् । उनले ‘सौदागर’, ‘सञ्जु’, ‘१९४२– अ लभस्टोरी’, ‘खामोसी’, ‘दिल से’, ‘कम्पनी’, ‘लुस्ट स्टोरिस्’, ‘अकेले हम अकेले तुम’,‘मन’ र
‘बम्बे’ लगायतका फिल्मरूमा अभिनय गरिसकेकी छिन् । नेपालमा जन्मिएकी अभिनेत्रीले भारतलाई आफ्नो कर्मथलो बनाएकी छन्। उनले भारतीय चलचित्र क्षेत्रमा एक समय राज गरेकी थिइन्। केही वर्ष अगाडि उनलाई पाठेघरको क्यान्सर भएको थियो। उनको उपचार सफल भइसकेको छ। क्यान्सरको उपचारपछि उनी पुन: अभिनयमा फर्किएकी थिइन्।
मन्त्रिपरिषद्ले नेपालको क्षेत्र अन्तर्गत लिपुलेख, कलापानी, लिम्पियाधुरा दाबी गर्दै देशको नयाँ नक्शालाई अनुमोदन गरेपछि भारत लगायतका देशहरुमा खैलाबैला मच्चिएको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको लोगोको मर्म अनुसार व्यवहार नभएको बताएपछि यो बिषय थप तातेको छ । ओलीले आफ्नो भुभाग कुनै हालतमा फिर्ता ल्याउने बताएका छन् ।