प्रधानमन्त्री कार्कीद्वारा काठमाडौं–तराई द्रुतमार्ग निरीक्षण, छिटो काम सम्पन्न गर्न निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग निरीक्षण गरेकी छन् । उनले आज बिहान नेपाली सेनाका अधिकारी र उच्चपदस्थ कर्मचारीहरुको टोलीसहित द्रुतमार्ग निरीक्षण गरेकी हुन् ।

सो क्रममा उनले राष्ट्रिय गौरवको यो आयोजना निर्माण गर्दा स्थानीयको धार्मिक विश्वास र सांस्कृतिक सम्पदामा कुनै पनि हालतमा आघात पुग्न नहुने स्पष्ट पारेकी छन् । ललितपुरको खोकना खण्डमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विकास र सम्पदाबीच समन्वय हुनुपर्नेमा जोड दिँदै स्थानीयका जायज सरोकारलाई सम्बोधन गर्न निर्देशन दिइन् । उनले आवश्यक परेको खण्डमा आयोजनाको रेखाङ्कन र जिरोविन्दु समेत परिवर्तन गरेर भए पनि स्थानीयलाई विश्वासमा लिन सरकार तयार रहेको बताइन् ।

निरीक्षणका क्रममा उनले आयोजनाको पछिल्लो भौतिक र वित्तीय प्रगतिबारे जानकारी लिँदै निर्धारित समयभित्रै काम सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिइन् । प्राकृतिक विपद् र सार्वजनिक प्रयोजनका लागि पर्याप्त खुला ठाउँ छाडेर मात्र संरचना निर्माण गर्न सुझाव दिँदै उनले आयोजनामा आइपर्ने नीतिगत र कानुनी अड्चन फुकाउन सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन् ।

निरीक्षण टोलीमा प्रधानसेनापति अशोकराज सिग्देल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, परराष्ट्रमन्त्री र आयोजना प्रमुख उपरथी धर्मेन्द्र झा लगायतको सहभागिता थियो । २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको ७१ किलोमिटर लामो यो द्रुतमार्गको हालसम्म करिब ४५ प्रतिशत भौतिक प्रगति भएको छ । तराई र मधेशलाई काठमाडौंसँग जोड्ने सबैभन्दा छोटो र रणनीतिक महत्वको यो मार्ग २०८३ चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा