काठमाडौँ । निर्वाचन आचारसंहिता विपरीतका गतिविधिमा संलग्न भएको भन्दै निर्वाचन आयोगले प्रतिनिधि सभाका पाँच जना उम्मेदवारमाथि निगरानी बढाउँदै स्पष्टीकरण सोधेको छ। प्राप्त उजुरीका आधारमा आयोगले बालेन्द्र शाह (बालेन), हर्क साम्पाङ, महेश बस्नेत, कमल भुसाल (निकोलस) र जानुका पाठकलाई कारबाही प्रक्रिया अघि बढाएको हो।
आयोगका अनुसार झापा निर्वाचन क्षेत्र नं. ५ का उम्मेदवार बालेन्द्र शाहले अर्का उम्मेदवार केपी शर्मा ओलीको सामाजिक सञ्जालको पोस्टमा गरेको टिप्पणीलाई लिएर स्पष्टीकरण माग गरिएको छ। यस्तै, सुनसरी १ का उम्मेदवार हर्क साम्पाङमाथि चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेको र उनीहरूलाई चुनावी टिसर्ट लगाउन लगाएको गम्भीर आरोप लागेको छ।
रुपन्देही २ का उम्मेदवार कमल भुसाल (निकोलस) ले ‘जेनजी आन्दोलनको आइकोनिक जुत्ता’ लाई आफ्नो चुनाव चिन्हका रूपमा प्रचार प्रसार गरी मतदाता भ्रमित पारेको भन्दै आयोगले जवाफ मागेको छ।
यता भक्तपुर २ मा चुनावी सरगर्मीसँगै आचारसंहिता उल्लंघनका घटना पनि बढेका छन्। सोही क्षेत्रका उम्मेदवार महेश बस्नेतले प्रतिद्वन्द्वीलाई लक्षित गरी ‘छाउरा’ जस्ता अमर्यादित शब्द प्रयोग गरेको विषयमा आयोगले स्पष्टीकरण सोधेको छ। सोही क्षेत्रकी अर्की उम्मेदवार जानुका पाठकलाई भने अन्य उम्मेदवारमाथि घृणाजन्य टिप्पणी (Hate Speech) गरेको अभियोगमा स्पष्टीकरण माग गरिएको छ।
आयोगले आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिँदै चित्तबुझ्दो जवाफ नआए कानुन बमोजिम थप कारबाही हुने चेतावनी समेत दिएको छ।




