रामेछाप बस दुर्घटना अपडेट: तामाकोशीमा ज्यान गुमाउनेको संख्या १२ पुग्यो

काठमाडौँ । काठमाडौँबाट ओखलढुङ्गाका लागि छुटेको यात्रुवाहक बस रामेछापको तामाकोशी नदीमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ। रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्याम कृष्ण थापाका अनुसार, दुर्घटनास्थलमा थप ६ वटा शव फेला परेसँगै मृतकको संख्या १२ पुगेको हो।

मृतकमध्ये ६ जनाको उपचारका क्रममा विभिन्न अस्पतालमा र अन्य ६ जनाको घटनास्थलमै मृत्यु भएको हो। काठमाडौँको जडीबुटी र चाबहिलबाट यात्रु लिएर ओखलढुङ्गाको पोकलीका लागि छुटेको बागमती प्रदेश ०१-००५ ख ९९७५ नम्बरको बस आज बिहान मचानेटार भन्ने स्थानबाट नदीमा खसेको थियो।

अरनिको यातायात समितिका अनुसार बसले जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुको आधिकारिक टिकट काटेको थियो। यद्यपि, बाटोबाट अन्य थप यात्रु चढे/नचढेको बारे अहिलेसम्म खुल्न सकेको छैन।

बस सडकबाट सिधै नदीमा डुबेकाले थप यात्रुहरू बेपत्ता हुन सक्ने आशंकामा सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि नदीमा खोजी कार्य जारी राखेको छ।

दुर्घटनामा घाइते भएका ८ जनामध्ये ७ जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा