आज महाशिवरात्रि पर्व : पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो, रातभर जाग्राम र धुनी जगाइने

काठमाडौँ । आज ‘महाशिवरात्रि’ पर्व, देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको मध्यरातमा चतुर्दशी तिथि परेका दिन मनाइने यो पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गर्ने विशेष दिन हो।

पर ब्रह्मले यसै दिन मध्यरातमा शिवरूप धारण गरेकाले आजको दिन पूजा र दर्शन गरेमा यस लोकमा सुख-शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय मान्यता छ। शिव पुराणका अनुसार कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये यसलाई अत्यन्तै पवित्र पर्वका रूपमा लिइन्छ। आज बिहानैदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन्।

धार्मिक विश्वास अनुसार माघ महिनामा महादेवको रुद्रत्व (संहार गर्ने तत्व) ले गर्दा पत्रविहीन भई जीर्ण भएका रूख-बिरुवाहरूमा आजैका दिनदेखि शिवत्व (कल्याणकारी तत्व) पलाउन थाल्छ। दीनदुःखी र कष्टमा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको यो अति नै प्यारो दिन हो। आज भक्तजनहरू शुद्ध भई व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर आराधना गर्छन्। रातभर जाग्राम बसेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने जनविश्वास समेत रहेको छ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यस अवसरमा पशुपतिनाथ मन्दिरमा आज बिहान ३ बजेदेखि नै चारै ढोका खोलिएका छन्। पशुपतिमा रातको चारै प्रहरमा हुने विशेष पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लाख बत्ती र लाख बेलपत्र अर्पण गरिँदैछ। दर्शनार्थीको चापलाई मध्यनजर गर्दै तिलगङ्गा, राममन्दिर र भुवनेश्वरी क्षेत्रबाट प्रवेशको व्यवस्था मिलाइएको छ भने सिफल, गुह्येश्वरी र वनकाली क्षेत्रमा सवारी पार्किङको प्रबन्ध गरिएको छ।

पशुपतिनाथमा आज नेपालका विभिन्न भागका साथै छिमेकी राष्ट्र भारतबाट समेत आएका तीर्थयात्री र साधुसन्तहरूको ठूलो घुइँचो लागेको छ। पशुपतिसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर र राजधानी बाहिरका प्रसिद्ध शिव मन्दिरहरूमा पनि धूमधामका साथ पूजा-अर्चना भइरहेको छ। महादेवलाई जाडो हुने जनविश्वासका कारण आज साँझ प्रत्येक घर, चोक र मठ-मन्दिरमा धुनी जगाई भजनकीर्तनका साथ प्रसाद ग्रहण गर्ने परम्परा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा