काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण देशको पहाडी तथा हिमाली भू-भागमा मौसममा परिवर्तन देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नुका साथै सो प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपात भइरहेको छ।
आज सोमबार तराईका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने भए तापनि देशका अन्य भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
चिसोको प्रभाव कायमै रहेकाले र केही स्थानमा हिमपात भइरहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।





