बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–४ स्थित कञ्चनजङ्घा स्कुल नजिकै गए राति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बिर्तामोडबाट सैनिक बजारतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६ प ३९५९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका–१३ निवासी २५ वर्षीय विशाल पौडेल गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बीएण्डसी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार कनकाई नगरपालिका–६ निवासी २५ वर्षीय चन्द्रकिशोर चापागाईं गम्भीर घाइते भएका छन्। उनको हाल बीएण्डसी अस्पतालमै उपचार भइरहेको छ। प्रहरीले कार चालक बिर्तामोड–६ निवासी २५ वर्षीय चिराग सिन्हालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।




