गोरखा । गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्कने क्रममा शनिबार राति एक विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। शहिद लखन गाउँपालिका वडा नम्बर ३ मा भएको सो दुर्घटनामा १५ जना भारतीय पर्यटक सवार रहेकोमा ७ जनाको ज्यान गएको घटनास्थलमा उद्धारमा खटिएका वडाध्यक्ष दिपक पाण्डेले जानकारी दिनुभएको छ।
बाटोबाट करिब १५० देखि २०० मिटर तल खसेको गाडीमा रहेका अन्य ८ जनाको उद्धार गरी उपचारका लागि पठाइएको छ। घाइतेमध्ये ७ जनाको तनहुँको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने एकजना गम्भीर घाइतेलाई थप उपचारका लागि चितवनको भरतपुर रिफर गरिएको छ। अन्य घाइतेहरूको अवस्था भने सामान्य रहेको स्वास्थ्यकर्मीहरूले जनाएका छन्। घटनास्थलबाट शव निकाल्न सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको टोली राति अबेरसम्म खटिएको थियो।
प्रारम्भिक अनुमानअनुसार ओरालो र अप्ठ्यारो बाटोमा विद्युतीय गाडी तातेर ब्रेक फेल भएका कारण दुर्घटना भएको हुन सक्ने देखिएको छ। निर्माणाधीन सडक, ठाडो ओरालो र वर्षा भइरहेका कारण चालकले नियन्त्रण गुमाएको स्थानीयको भनाइ छ। साथै, उक्त गाडी रुटभन्दा बाहिरको भएकाले चालकलाई सडकको अवस्थाबारे पर्याप्त जानकारी नहुँदा पनि यस्तो भयावह दुर्घटना भएको हुन सक्ने आकलन गरिएको छ।
प्रहरीले घटनाको विस्तृत विवरण संकलन गरिरहेको छ। मृत र घाइते सबै भारतीय नागरिक भएकाले उनीहरूको सनाखत र कानूनी प्रक्रियाका लागि आवश्यक समन्वय भइरहेको छ। मनकामना दर्शन गरी खुसीका साथ फर्किएका पर्यटकहरू यसरी दुर्घटनामा परेपछि स्थानीय बासिन्दा र दर्शनार्थीहरू स्तब्ध भएका छन्।





