काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका साधनमा विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधा अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। हालै यातायात व्यवसायी र सरोकारवाला निकायलाई परिपत्र गर्दै विभागले यो सहुलियत कडाइका साथ लागू गर्न ताकेता गरेको हो।
विभागले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायातलाई पत्राचार गर्दै विद्यार्थीको कानुनी अधिकार पालना गर्न सचेत गराएको छ। पछिल्लो समय इन्धनको मूल्य वृद्धिको बहानामा कतिपय सवारीसाधनले विद्यार्थीलाई छुट नदिएको र परिचयपत्र देखाउँदा समेत दुर्व्यवहार गर्ने गरेको गुनासो हेलो सरकार र विभागमा परेपछि यो कदम चालिएको हो।
सरकार र यातायात व्यवसायीबीच २०६५ फागुन २० गते भएको सहमति अनुसार विद्यार्थीले भाडामा ४५ प्रतिशत सहुलियत पाउँदै आएका छन्। विभागले उक्त ऐतिहासिक सहमतिको स्मरण गराउँदै कुनै पनि सवारी साधनले छुट दिन आनाकानी गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ। सार्वजनिक सवारीका चालक र सहचालकलाई विद्यार्थीसँग मर्यादित व्यवहार गर्न र तोकिएको छुट दिन विभागले स्पष्ट निर्देशन दिएको छ।
नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।