सार्वजनिक बिदामा ओपीडी सेवा ठप्प हुँदा बिरामीको बिजोग: सरकारको ध्यानाकर्षण गराउँदै महामन्त्री प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सार्वजनिक बिदाका दिन सरकारी अस्पतालहरूमा ओपीडी सेवा बन्द हुँदा आम नागरिकले सास्ती खेप्नुपरेको प्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ। ओपीडी सेवा प्रभावित हुँदा सहज हुनुपर्ने स्वास्थ्य सेवाको पहुँच खुम्चिएको र बिरामीहरूलाई निजी अस्पताल जानुपर्ने बाध्यताले आर्थिक बोझ थपिएको उहाँले बताउनुभयो।

विगतमा आफू स्वास्थ्य मन्त्रालयमा रहँदा अतिरिक्त समय काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिएर सार्वजनिक बिदाका दिनमा समेत निरन्तर सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको उहाँले स्मरण गराउनुभयो। सरकारी अस्पतालहरूमा हुने उच्च चापलाई व्यवस्थापन गर्न ओपीडी सेवालाई दुई सिफ्टमा सञ्चालन गर्ने र सेवाको समय बढाउने जस्ता सुधारका कामहरू आफ्नो कार्यकालमा सुरु भएको उहाँको भनाइ छ।

महामन्त्री पौडेलले अस्पतालहरूमा जनशक्तिको अभाव पूर्ति गर्न २५०० नयाँ जनशक्ति थप गर्ने प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको जानकारी दिँदै ती सुधारका कामहरूलाई निरन्तरता दिन सरकारसँग अनुरोध गर्नुभएको छ। सरकारी अस्पतालमार्फत गुणस्तरीय सेवा उपलब्ध गराएर मात्र समग्र स्वास्थ्य प्रणालीलाई नागरिकमैत्री बनाउन सकिने भन्दै उहाँले हिजोका दिनमा सुरु भएका नीतिहरूलाई प्रभावकारी रूपमा अघि बढाउन जोड दिनुभयो।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा