काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकार जनताको मन र सत्ताबाट बिदा हुने दिन टाढा नरहेको दाबी गर्नुभएको छ। अतिक्रमित सुकुम्वासी बस्ती खाली गर्न सरकारले उर्दी जारी गरेको भन्दै उहाँले कडा आक्रोश पोख्नुभएको हो।
सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै नेता बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा प्रमुखहरूलाई बोलाएर शनिबार र आइतबारभित्र बस्ती खाली गर्न निर्देशन दिएको भन्दै यसले सरकारको असली चरित्र नाङ्गो बनाएको बताउनुभयो। उहाँले सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विगतको प्रतिबद्धतामाथि पनि प्रश्न उठाउनुभएको छ। “हिजो सुकुम्वासीको पक्षमा छाती थाप्छु भन्ने रवि लामिछानेको प्रतिबद्धता आज कहाँ गयो?” बस्नेतले प्रश्न गर्नुभएको छ।
नेता बस्नेतले सरकारले गरिबी हटाउनुको साटो गरिबलाई नै समाप्त पार्न खोजेको आरोप लगाउनुभयो। सडक र फुटपाथ सफा गर्ने नाममा साना व्यवसायी र स्थानीयको घरमा डोजर चलाउनु तथा भन्सारमा कडाइ गरेर सर्वसाधारणको दाल-चामल खोस्नु प्रगति नभई गरिबमाथिको हमला भएको उहाँको तर्क छ। विद्यार्थी र कर्मचारी संगठन खारेज गर्ने जस्ता कदमले सरकार अधिनायकवादतर्फ उन्मुख भएको पुष्टि गर्ने भन्दै यस्तो जनविरोधी कार्य जनताले चुप लागेर नहेर्ने उहाँले चेतावनी दिनुभएको छ।





