काठमाडौँ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध १६ वटा उजुरी दर्ता भएका छन्। समितिले उजुरी दिनका लागि तोकेको १० दिनको समयसीमाभित्र शर्माविरुद्ध ती उजुरीहरू दर्ता भएका हुन्। सङ्घीय संसद् सचिवालयकी उपसचिव सावित्रा शर्माका अनुसार उजुरी दिने अन्तिम दिन सोमबारसम्ममा सबै माध्यमबाट गरी कुल १६ वटा उजुरी सङ्कलन भएका छन्।
यसअघि संसदीय सुनुवाइ समितिको वैशाख २५ गते बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माविरुद्ध १० दिनको समय दिएर सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको थियो। समिति सचिवालयले सर्वसाधारण र सरोकारवालाहरूका लागि हुलाक, इमेल, सिधै सचिवालयमा पत्रमार्फत वा सुनुवाइ समितिका सदस्यहरूलाई प्रत्यक्ष भेटेर खामबन्दी उजुरी दिन सक्ने व्यवस्था मिलाएको थियो। यसका साथै देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत समेत उजुरी दिन सकिने खुला व्यवस्था गरिएको थियो।
समितिले उजुरी दिँदा आरोप वा विषयवस्तुको ठोस आधार र कारण स्पष्ट रूपमा खुलाउनुपर्ने सर्त राखेको थियो। आगामी जेठ ५ गते बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा सबै सदस्यहरूको रोहबरमा प्राप्त भएका उजुरीहरू खोलिने संसद् सचिवालयले जनाएको छ। त्यसपछि उजुरीहरूको गम्भीरतापूर्वक अध्ययनका लागि सबै सदस्यहरूलाई प्रतिलिपि वितरण गरिनेछ र सोही आधारमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माको सुनुवाइ प्रक्रिया अगाडि बढाइनेछ।





